सत्ता साझेदार दलहरुमा मन्त्रालयको भागबण्डा नमिल्दा मन्त्रीपरिषद विस्तार पेचिलो बन्दै गएको छ । दलहरुबीच मन्त्रालय भागवण्डा सहमति नजिक पुगेको भनिएपनि अर्थ मन्त्रालय कसले लिने भन्ने टुंगो नलाग्दा उक्त विषय पेचिलो बन्दै गएको हो । सत्ता साझेदार दलहरूमध्य ठुलो दल नेपाली कांग्रेसले सरकारमा सहभागी हुँदा अर्थ मन्त्रालयसहित कम्तीमा ८ मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ । कांग्रेसको हिजो (शनिबार) बसेको पदाधिकारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफलमा र गठबन्धन बैठकमा अहिलेसम्म भएका छलफलबारे ब्रिफिङ भएको थियो । जसमा अर्थसहित ८ मन्त्रालयमा दाबी रहेको पदाधिकारीलाई जानकारी दिइएको थियो।
सभापति शेरबहादुर देउवाले अहिलेसम्म भएका छलफलका प्रगतिबारे ब्रिफिङ गर्न उपसभापति पूर्णबहादुर खड्कालाई भनेका थिए । खड्काले कम्तीमा ८ मन्त्रालयमा आफूहरूको दाबी रहँदै आएको बताएका थिए । संसदको सबैभन्दा ठूलो पार्टी भएका कारण अर्थ मन्त्रालयसहित कम्तीमा ८ मन्त्रालयमा कांग्रेसको दाबी रहने पदाधिकारी बैठकमा ब्रिफिङ भएको एक नेताले बताए । ८ मन्त्रालयको अडानसहित गठबन्धन बैठकमा छलफल गर्ने कुरा भएको उनले बताए ।
गठबन्धनमा रहेको ११ दल मिदाउने दवावमा रहेका प्रधानमन्त्री दाहालले कांग्रेसलाई ७ मन्त्रालय लिएर सहयोग गरिदिन आग्रह गरिरहेको ब्रिफिङसमेत कांग्रेस बैठकमा भएको थियो । कांग्रेसले उपसभापति पूर्णबहादुर खड्कासहितलाई सरकारमा पठाउने तयारीसमेत गरेको छ। खड्कालाई उपप्रधानमन्त्रीसहित अर्थ वा रक्षा मन्त्रीको जिम्मेवारी रहने गरी सरकारमा पठाउने तयारी रहेको ती पदाधिकारीले बताए । खड्काले आफू मन्त्री नबन्ने सार्वजनिक रूपमा बताउँदै आएका छन् । उपसभापति खड्का मन्त्री बन्न नचाहेमा पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई उपप्रधानमन्त्रीसहित कुनै मन्त्रालय लिने गरी सरकारमा पठाउने तयारीमा सभापति देउवा छन् ।
कांग्रेसले कसको नेतृत्वमा सरकारमा सहभागी हुने केन्द्रीय कार्यसम्पादन र संसदीय दल बैठकबाट निर्णय गर्ने तयारीसमेत गरेको छ । कांग्रेसले मन्त्री छान्दा केन्द्रीय कार्यसम्पादन समिति बैठकले बनाएको मापदण्ड अनुसार योग्यता, क्षमता र समावेशीतालाई ध्यान दिने बताएको छ । सात प्रदेशबाट एक-एक जना प्रतिनिधित्व हुने गरी मन्त्री पठाउने कांग्रेसको तयारी छ । चैत ६ गते ११ दलको समर्थनमा विश्वासको मत लिएका प्रधानमन्त्री दाहालले दुई/तीन दिनभित्र मन्त्रिपरिषद बिस्तार गर्ने बताएका थिए । पुरानो गठबन्धन भत्किएसंगै १६ मन्त्रालय आफैंले हेर्दै आएका दाहालले गृह मन्त्रालय आफैंसँग राख्न खोजेका छन् ।
कांग्रेस, रास्वपा, एकीकृत समाजवादीले पनि गृह आफूहरूलाई चाहिने दाबी गरेको स्रोत बताउँछ। दाहालले गृहबाहेक मन्त्रालय दिने गरी रास्वपालाई पनि सरकारमा ल्याउन चाहेका छन् । प्रधानमन्त्री दाहालले गृह मन्त्रालय आफ्नो दलले लिएर कांग्रेसलाई अर्थ दिन चाहेका छन् । तर कांग्रेसबाट सरकारमा पार्टीको नेतृत्व गरेर आउने भनिएका उपसभापति पूर्णबहादुर खड्काको दाबी गृह मन्त्रालयमा छ । तर कांग्रेस र माओवादीमध्ये कसले गृह र कसले अर्थ मन्त्रालय लिने भन्ने टुंगिएको छैन । नेता देवेन्द्र पौडेलका अनुसार सोमबारभित्र मन्त्रिपरिषद बिस्तार गर्न गृहकार्य भइरहेको छ ।