झापा । कमल गाउँपालिकाको कर्खामा दुर्घटना भएपछि हिजो साँझदेखि अवरुद्ध पूर्वपश्चिम राजमार्ग करिव १२ घण्टापछि सुचारु भएको छ । पीडित पक्षसंग ४ बुँदे सहमति भएपछि अहिले बिहान ५ बजेदेखि राजमार्ग सुचारु भएको हो ।
गएराति ९ बजेदेखि आज बिहान २ः३० बजेसम्म कमल–३ स्थित केर्खा बजारमा रहेको वडा नं– ३ का वडाध्यक्ष अग्नी कोइरालाको घरमा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको रोहवरमा वडाध्यक्ष कोइराला, पीडित पक्ष, नागरिक समाज र प्रहरी प्रशासनलगायत करिब २० जनाको उपस्थितिमा सर्वपक्षीय बैठक ४ बुँदे लिखित सहमति गरिएको हो ।
पीडित पक्षलाई अधिकतम क्षतिपूर्ति दिलाउनका प्रयत्न गर्ने,जनप्रतिनिधि तथा प्रशासनको संयुक्त पहलमा दोषी चालकमाथि कार्वाही लागि माग गर्ने,त्रिपक्षीय सहमतिलाई कार्यान्वयन गर्ने र कानुनी प्रकृया पुरा गर्नका लागि भइरहेको अवरोध हटाई अगाडि बढ्ने सहमति भएको हो । उक्त सहमति गरे पश्चात् आज बिहान ३ः५० बजेदेखि प्रहरीले आवश्यक कानुनी प्रक्रिया र मुचुल्काको कार्य शुरु गरेको थियो ।
प्रहरीले बिहान ५ बजे मृतकहरुको शव मे १ च १३३३ नम्बरको एम्बुलेन्समा राखी पोस्टमार्टमको लागि दमक अस्पताल दमक पठाएको छ । सहमति भएपछि बिहान ५ः०५ बजेदेखि पूर्वपश्चिम राजमार्ग सुचारु भएको र हालको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।
काँकडभिट्टाबाट काठमाडौतर्फ जाँदै गरेको प्र १–०१–००१ ख ४३३१ नं को रात्रिबसले केर्खामा इलेक्ट्रिक साइकललाई ठक्कर दिँदा हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको थियो । सोही दिशातर्फ जाँदै गरेको इलेक्ट्रिक साइकललाई हिजो साँझ ५:३० बजे रात्रिबसले ठक्कर दिएको थियो ।
दुर्घटनामा मनोज इजमकी अन्दाजी ९ वर्षकी छोरी कृपा इजम र उनका बुवा ६० वर्षीय टेकबहादुर इजमको मृत्यु भएको हो । ठक्कर दिने बसलाई तोडफोड गरिएको छ भने प्रहरी चौकी केर्खामा राखिएको त्यस बसलाई आगजनी गर्ने प्रयास गरिएको थियो । आक्रोशितहरुले प्रहरी चौकी केर्खामा ढुंगामुढा गरेका थिए ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका यातायातका साधन शिवसताक्षीस्थित कमल खोलाको पुलमा रोकिएका थिए भने पूर्वतर्फ आउने यातायातका साधन सीतापुरीमा रोकिएका छन्। जसका कारण गन्तव्यमा पुग्ने यात्रु बीचबाटोमै अलपत्र परेका थिए ।