मकवानपुर। स्थानीय सरकारको प्रत्याभूत गराउँदै मकवानपुर गढी गाउँपालिकाले गाउँपालिका स्तरका सबै बाँझो जग्गाको उपयोग गरी कृषितर्फ आत्मनिर्भर बनाउने नीति अघि सारेको छ।
पालिकाका अध्यक्ष दोर्जेलामा स्याङ्तानले स्थानीय गाउँसभाले आर्थिक वर्षदेखि बाँझो जग्गा भाडामा लिएर खेती गर्ने किसानलाई अनुदान नीति बढाएको छ । यस नीति अनुसार किसानले अबदेखि गाउँपालिकाबाट आर्थिक रकम अनुदानको रुपमा पाउनेछ।
गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को स्वीकृत कार्यक्रम अनुसार कृषियोग्य जग्गाको उपयोगिता बढाउने र किसानलाई कृषिमा आत्मनिर्भर बनाउने नीति अन्तर्गत किसान कृषि योजना अघि बढाएको छ।
पालिका अध्यक्ष स्याङतान भन्छन्; “कुनै पनि किसानहरूले जग्गा भाडामा लिएबापत गाउँपालिकाले प्रति रोपनी दुई हजार रुपैयाँका दरले ती किसानहरूलाई आर्थिक अनुदान रकम उपलब्ध गराउने कार्यविधिमा तय भएको छ। यस अनुसार नै हामी यहाँका किसान बा आमाललाई रकम उपलब्ध गराउँछौं ।”
यस कार्यक्रम अन्तर्गत यस पालिकामा रहेका विपन्न,सीमान्तकृत दलित,जनजाति तथा बेरोजगारीको सूचीमा रहेकालाई विशेष प्राथमिकता दिनेछ । किसानले जग्गा भाडामा लिए बापत पाउनुपर्ने रकम उपलब्ध गराउन पालिकाले चालु आर्थिक वर्षका लागि ६ लाख रुपैयाँ बजेट विनियोजन समेत गरेको उल्लेख गरेको छ।