काठमाडौँ। दलित अभियान्ताका रूपमा चिनिएका खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गरेको छ। उनी दोस्रोपटक संसद भवनमा प्रवेश गर्न खोज्दा प्रहरीले पक्राउ गरिएको हो।
अन्तर्जातीय विवाह गरेका सर्लाहीका सतेन्द्र राम र नेहा रौनियाको जोडेको न्याय माग्दै आज दिउँसो संघीय संसद भवन नयाँ बानेश्वरमा प्रवेश गर्न खोज्दा उनलाई प्रहरीले पक्राउ गरेका हुन्।
उनी संसद भवनमा प्रवेश गर्न खोज्दा ड्युटीमा खटिएका प्रहरीहरूले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी विश्व अधिकारीले जानकारी दिए।
दलित अभियान्ता सुनार यसअघि पनि ६ महिनाअघि गत साउन २९ गते पनि हातखुट्टा नेल लगाएर माइतीघरबाट प्रदर्शन गर्दै संसद भवन प्रवेश गर्न खोजेका थिए। त्यसबेला पनि उनलाई प्रहरीले नियन्त्रणमा लिएर साँझ रिहा गरिदिएका थिए।
दलित अभियान्ता सुनार विगत केही समयदेखि दलित हक अधिकारको विषयमा वकालत गर्दै आफ्ना शरीरमा नेल लगाएर धर्ना दिँदै सरकारलाई मानव भएको अधिकार दिलाउन अग्रसर न्यायको माग गर्दै आइरहेका एक ब्यक्ति थिए।