काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालले नेपाल सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेको छ। जसपा नेपालले उक्त अध्यादेशलाई अध्ययन गरेपश्चात यस्तो निर्णय गरेको हो।
आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको जानकारी गराएको हो।
सरकारको पक्षले कुनै अधिवेशन नगराईकन स्वेच्छाचार्य आफ्नो ढङ्गबाट निर्णय गरेर छवटा अध्यादेश ल्याएको थियो। त्यसमध्ये भूमिसम्बन्धी अध्यादेशलाई जसपा नेपालका पार्टीले एउटा कार्यदलै बनाएर अध्ययन गरेपश्चात् सो अध्यादेशलाई पार्टीले समर्थन नगर्ने बताइएको हो।
सरकार पक्षबाट ल्याइएको छवटा अध्यादेशमध्ये ५ ओटामा समर्थन जनाउँदै अघि बढ्ने जसपा नेपालको सकारात्मक विचार रहेको उल्लेख गरेको छ।
यता जसपा नेपालले यस्तो निर्णय गर्नुभन्दा पहिले उक्त अध्यादेश प्रति एउटा कार्यदलले नै बनाएर अध्ययन गरेको थियो। उक्त कार्यदलको नेतृत्वको लागि जसपा नेपालका उपाध्यक्ष राजकिशोर यादवलाई तोकिएको थियो। सोही कार्यदलको अध्ययन प्रतिवेदन पश्चात् पार्टीले यस्तो निर्णय गरिएको जसपा नेपालका सांसद प्रकाश अधिकारीले जानकारी दिए।
जसपा नेपालले सरकारले ल्याएको छवटा अध्यादेशमध्ये भूमिसम्बन्धी अध्यादेशलाई आफ्नो पार्टीको समर्थन नरहेको जानकारी गराएको छ। भूमिसम्बन्धीको अध्यादेशमा समग्र वन क्षेत्रको जग्गाको नोक्सान गर्ने र सार्वजनिक जग्गाको नोक्सान गर्ने प्रावधान देखिन्छ। भू-माफियाको प्रभाव बढ्न नदिन र जनताको पक्षमा रहनका लागि यस्तो निर्णय गरिएको पार्टीका सांसद अधिकारीले बताए।