काठमाडौँ। वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारेर ठगी गर्ने दुई जना व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा डोटीको बडीकेदार गाउँपालिका ३ घर भई हाल काठमाडौँ महानगरपालिका १४ बस्ने वर्ष २९ को पूर्णबहादुर जेठारा र नुवाकोटको बेलकोट गढी नगरपालिका १२ घर भई हाल काठमाडौँको नागार्जुन नगरपालिका २ बस्ने वर्ष ३७ को राजकुमार लामा रहेका छन्। दुबै व्यक्तिले पोर्चुगल र जापान पठाइदिने भनेर रु १४ लाख रुपैयाँ ठगी गरेको बताइएको छ।
पूर्णबहादुरले पोर्चुगल पठाइदिन्छ भन्दै तीनजनाबाट ९ लाख र राजकुमारले जापान पठाइदिने भन्दै एकजनाको साथबाट रु ५ लाख ५० हजार लिएर पछि सम्पर्कविहीन भएको नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ।
पीडित पक्षले यस विषयलाई लिएर उजुरी जाहेरी दिए पश्चात प्रहरीले घटनालाई अनुसन्धान प्रक्रिया अगाडि बढाएपछि दुवै व्यक्तिलाई खोजी कार्य सुरु गरेको थियो। त्यसपछि उनीहरुलाई काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको कार्यालयका प्रहरी उपरीक्षक एवंम् सूचना अधिकारीले जानकारी गराए।