झापा। झापा जिल्लामा प्रहरीले चेक जाँच गरेको दुईवटा ट्रकभित्र १६३६ किलो गाँजा सहित दुई जनालाई नियन्त्रणमा लिन सफल भएको छ। प्रहरीले झापा जिल्लाको बुद्ध शान्ति गाउँपालिका ४ स्थित मेची राजमार्गबाट हिजो (शुक्रबार) दुईवटा ट्रक नियन्त्रणमा लिएको हो।
ट्रक सहित नियन्त्रणमा हुने व्यक्तिहरूमा धनकुटा जिल्लाको सहिद भूमि नगरपालिका ४ बस्ने महेश राई र इलामको माइजोगाई गाउँपालिका २ का वर्ष ३७ को गंगाबहादुर बस्नेत रहेको प्रहरीले जानकारी दिएको छ।
इलामबाट झापातर्फ आउँदै गरेको १ ख ५००१ र प्र १-००२ ख ०५८४ नम्बरको मिनी ट्रकलाई विशेष सुराकीको आधारमा पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ।
नं. १ बराह बाहिनी मुख्यालय र नं. २ गण झापा मातहत सुरक्षा बेस टिमाईबाट खटेको संयुक्त सुरक्षा फौजले चेकजाँच गर्ने क्रममा उक्त ट्रकबाट करिब ५७ वटा बोरामा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा गाँजा सहित ती व्यक्तिहरूलाई नियन्त्रणमा लिन सफल भएको हो।
पक्राउ परेका व्यक्तिको साथबाट नेपाली ५७ हजार ८ सय रुपैयाँ र ५ थान मोबाइल सेट पनि प्रहरीले बरामद गरेको छ।
अहिले पक्राउ परेका ती व्यक्तिहरु र ती व्यक्तिहरुको साथमा फेला परेका ती परिमाणको गाँजाहरु कहाँ कसरी ति ट्रकमा राखेर लान थालेको भन्ने विषयमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जानकारी दिएको छ।