काठमाडौँ। नागरिक उन्मुक्ति पार्टीले जनमत पार्टीसँग एकीकरण गर्न तीन सदस्य कार्यदल गठन गरेको छ। नाउपाले काठमाडौँमा गरेको दुई दिने केन्द्रीय कार्यसमितिको बैठकले प्रतिनिधि सभा सदस्य गंगाराम चौधरीको संयोजकत्वमा कार्यदल बनाएको हो।
नाउपाले बनाएको कार्यदल गठन सदस्यमा सुनिता चौधरी र रामलाल डंगौरा रहेका छन्।
यस अघि गएको फागुन अन्तिम साता बसेको जनमतको केन्द्रीय समितिको बैठकले नाउपासँग पार्टी एकीकरणका लागि कार्यदल बनाएको थियो। जनमतको उक्त केन्द्रीय बैठकले कार्यदलमा प्रतिनिधि सभा सदस्य अब्दुल खान संयोजक र डाक्टर सरद सिंह यादव र बाल गोविन्द चौधरी सदस्य बनेका थिए।
नाउपाले विगत लामो समयदेखि केन्द्रीय समितिको बैठक नबसेको स्थितिमा अहिले पार्टीलाई एकीकरण गर्ने उद्देश्यका साथ बोलाएको पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा जनमतका अध्यक्ष सीके राउतले विशेष सम्बोधन गरेका थिए।
जनमतका अध्यक्ष राउत भन्छन् “थारुको पहिचान समेत रहेको ढकियालाई गर्व गर्न लाइक बनाउँछौं।” हाम्रो उद्देश्यमा पार्टी केन्द्रीय सदस्यहरू लगायत सबै कार्यकर्ताहरूले साथ नदिएसम्म यो सम्भव रहेको छैन,उनले भने।
सबैको सहमति र सम्मानले मात्रै हामी अन्तर मनदेखि नै एक हुन सक्छौ। यसको लागि सबैको अतुलनीय साथको खाँचो रहेको छ। यदि यहाँहरूको साथ मिल्यो भने ढकियामै गर्व गर्न सक्ने एउटा पहिचान सहितको पार्टी बनाउने जनमतका अध्यक्ष राउतले आफ्नो धारणा राखेका छन्।
त्यस्तै नाउपाका पार्टी संरक्षकको रुपमा रहेका रेशमलाल चौधरीले हात मात्र होइन तपाईंहरूको मनदेखि नै अतुलनीय साथको अपेक्षा रहेको बताए। उनले अध्यक्ष राउतलाई विपक्षीय सिटमा बस्न सक्ने मनसाय बनाउन जरुरी छ। जुनसुकै परिस्थितिमा भएपनि संसद भवनको विपक्षको सिटमा बस्नुपर्ने हुनसक्छ। कुनै पनि मन्त्री पद भएको खण्डमा पनि पदलाई त्यागेर सडकमा पनि आउनुपर्ने अवस्था हुन सक्छ। त्यसको लागि हामी हरेक कुराबाट बलियो भएर अगाडि बढ्न मन दरिलो हुनु जरुरी छ; संरक्षक चौधरीले भने।
जनमत पार्टीका अध्यक्ष राउतले अहिले नाउपाको केन्द्रीय समितिको बैठकले दुईवटा पार्टीको एकता निश्चित भएको दाबी समेत गरेका छन्।
नाउपाको केन्द्रीय सदस्यहरूको बैठकले एउटा सकारात्मक छलफलको केन्द्रबिन्दु बनाइरहेको हुनाले दुईवटा पार्टीबीच एकता हुने सम्भव देखिएको उनले बताए।
नाउपाका पार्टी संरक्षक रूपमा रहेका रेशमलाल चौधरीजी पनि पार्टी एकीकरणतर्फ निकै सकारात्मक भएको र उहाँप्रति कुनै पनि भित्री स्वार्थ नरहेको बताउँदै यी दुवै पार्टी विवादरहित एउटा निश्चित दिशामा नयाँ पार्टी पंक्तिमा अगाडि बढ्ने जनमतका अध्यक्ष राउतले सञ्चारकर्मीहरूसँग आफ्नो भनाइ राखेका छन्।