काठमाडौं। अपहरणको धम्की दिएर अपराधिक गतिविधि गरी त्यसबाट अपराधिक लाभ लिन खोजेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सर्लाही जिल्लाको धनकौला गाउँपालिका २ घर भए हाल भक्तपुरको लोकन्थलीमा बस्ने सुदीप कुमार शाह गुप्ता नामका व्यक्ति रहेका छन्। उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गर्न सफल भएको हो।
अपराधिक लाभ लिने उद्देश्यले विभिन्न योजनाबद्ध रूपमा विभिन्न योजनाहरू बनाएर व्यक्तिलाई धाकधम्की दिएर र त्यसबाट अपहरण गर्ने उद्देश्य बनाएर काम गरिरहेको व्यक्ति भएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले गुप्तालाई कोटेश्वरबाट पक्राउ गरी थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाएको छ। गुप्त विरुद्ध यसअघि पनि २०७९ साल मङ्सिर १५ गते पनि लागू औषधको कसुरमा मुद्दा चलेको थियो।