काठमाडौं। गायन रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन ६ ले आफ्ना चार उत्कृष्ट प्रतिस्पर्धीलाई सार्वजनिक गरेको छ।
विभिन्न कोचहरुको समूहबाट छानिएका यी प्रतिभाशाली प्रतिस्पर्धीहरुले अब सिजनको उपाधि जित्नका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।
कोच उदयको टिमबाट अर्पना आचार्य फाइनलमा प्रवेश गरेकी छन् भने कोच राजु लामाको समूहबाट प्रमेश राईले पनि अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेका छन्। त्यसैगरी, कोच मेलिना राईको समूहलाई प्रतिनिधित्व गर्दै रोशन राई फाइनलमा पुगेका छन्।
आज सम्पन्न भएको लाइभ राउण्डको अन्तिम प्रतिस्पर्धापछि कोच खेम सेन्चुरीको टिमबाट प्रोसेस पाण्डे फाइनलमा पुग्न सफल भएका छन्।
अब आउने शुक्रबार यी चारै कोचका उत्कृष्ट एक-एक प्रतिस्पर्धीबीच रोमाञ्चक प्रतिस्पर्धा हुनेछ,जसले सिजन ६ को विजेताको टुङ्गो लगाउनेछ।
दर्शकहरुले भने आजैदेखि आफ्नो मनपर्ने प्रतिस्पर्धीलाई भोट गरेर जिताउन सक्नेछन्। भोटिङ लाइन खुला गरिएको आयोजकले जनाएको छ।