मोरङ। लेटाङ नगरपालिकाले नगर क्षेत्रमा फुटबल खेलाडी उत्पादन गरि खेल क्षेत्रको विकास गर्ने उद्देश्यका साथ १५ वर्षमुनिका छात्रछात्राहरुका लागि फुटबल खेलको प्रशिक्षण सुरु गरेको छ । लेटाङ नगरपालिकाको आयोजना तथा लेटाङ फुटबल क्लवको व्यवस्थापनमा १५ वर्षभन्दा मुनि १० वर्षसम्मका १ सय ८० जना छात्रछात्राहरुका लागि फुटबल खेलको प्रशिक्षण सुरु गरिएको हो ।
नगरपालिकाका विभिन्न ४ ठाउँमा १ महिनासम्म सञ्चालन हुने प्रशिक्षणको मंगलबार लेटाङ ४ स्थित जनसेवा खेल मैदानमा शुभारम्भ गरिएको छ । लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला र लेटाङ ४ का वडाध्यक्ष रामकुमार श्रेष्ठले प्रशिक्षकलाई फुटबल हस्तान्तरण गर्दै प्रशिक्षणको शुभारम्भ गरेका थिए ।
लेटाङ–४ स्थित जनसेवा खेल मैदानबाट प्रशिक्षण शुभारम्भ गरिएकोमा, लेटाङ २ को खेलमैदान, लेटाङ ४ को प्याव्सन चौरी र लेटाङ ९ स्थित श्रीमाविको खेल मैदानमा गरि ४ ठाउँमा प्रशिक्षण सञ्चालन हुने लेटाङ फुटबल क्लवका अध्यक्ष इन्द्र राईले जानकारी दिए। प्रशिक्षण लिन चाहने खेलाडीहरुले आफुलाई पाएक पर्ने नजिकैको खेल मैदानमा प्रशिक्षण लिन सक्ने व्यवस्था गरिएको छ ।
मोरङ जिल्ला फुटबल रेफ्रि संघका वरिष्ठ उपाध्यक्ष माधव लिम्बूले हालसम्म १ सय ८ जनाले प्रशिक्षणका लागि नाम टिपाएकोमा १ सय ८० जनासम्मलाई सहभागी गराउन सकिने भएकाले चाँडो भन्दा चाँडो नाम टिमाउन इच्छुक खेलाडीलाई आग्रह गर्नुभयो । प्रशिक्षणमा मुख्य प्रशिक्षक इन्द्र राई रहेका थिए भने विजय मगर,आशिष राई,अनुप मगर,सरोज मगर सहायक प्रशिक्षकको रुपमा रहने उनले जानकारी दिए।