काठमाडौँ। हिजो सम्पन्न इन्डियन प्रिमियर लिग (आइपिएल) को ५१औँ खेलमा घरेलु टोली गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई ३८ रनको फराकिलो अन्तरले पराजित गरेको छ। गुजरातको नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरात टाइटन्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २२४ रनको विशाल योगफल तयार पारेको थियो।
टाइटन्सको जितमा कप्तान शुभमन गिलले उत्कृष्ट ब्याटिङ गर्दै ३८ बलमा ७६ रन बनाए। उनलाई जोश बट्लरले ६४ रन र शाई सुदर्शनले ४८ रन बनाएर राम्रो साथ दिए। हैदराबादका लागि जयदेव उनाडकटले तीन विकेट लिए भने कप्तान प्याट कमिन्स, हर्षल पटेल र जिसान अन्सारीले समान एक-एक विकेट हात पारे।
२२५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको सनराइजर्स हैदराबादले २० ओभरमा १८६ रन मात्र बनाउन सक्यो। अघिल्ला खेलहरुको तुलनामा केही सुधारिएको प्रदर्शन गरे पनि हैदराबादका लागि अभिषेक शर्माले बनाएको ७४ रन बाहेक अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान दिन सकेनन्।
गुजरात टाइटन्सका बलर प्रसिद्ध कृष्ण खेलको प्लेयर अफ द म्याच घोषित भए।
उनले किफायती बलिङ गर्दै ४ ओभरमा १९ रन दिएर महत्वपूर्ण २ विकेट लिए। मोहम्मद सिराजले २ विकेट तथा ईशान्त शर्मा र जेराल्ड कोयट्जिले समान एक-एक विकेट लिए। यो जितसँगै गुजरात टाइटन्स १० खेलमा ७ जित र ३ हारसहित अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। उता, समान खेलमा ३ जित मात्र हात पारेको सनराइजर्स हैदराबाद तालिकाको पुछारबाट दोस्रो स्थानमा यथावत छ।
गुजरात टाइटन्स प्लेअफमा पुग्ने सम्भावना बलियो बनेको छ भने हैदराबादको लागि अब गणितीय सम्भावना मात्र बाँकी छ। आज आइपिएलमा तालिकाको अन्तिम स्थानमा रहेको चेन्नई सुपर किंग्स र तेस्रो स्थानमा रहेको रोयल च्यालेन्जर्स बेङ्गलुरुबीच बेङ्गलोरको घरेलु मैदानमा बेलुकी ७:४५ बजे खेल हुनेछ।