काठमाडौं। काठमाडौंको कोटेश्वर तिनकुने सडकमा आज बिहान भएको सवारी दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। प्रहरीका अनुसार मृत्यु हुनेमा नुवाकोट घर भई हाल ललितपुरको धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङ रहेकी छन्। उनी मोटरसाइकलमा पछाडि सवार थिइन्।
दुर्घटनामा मोटरसाइकल चालक २७ वर्षीय पदम थापामगर, भ्यान चालक शान्तिनगरका रत्न सार्की र बसकी यात्रु काँडाघारीकी २० वर्षीया मेनुका बुढाथोकी घाइते भएका छन्। उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी वृत्त कोटेश्वरका अनुसार बिहान ६ः३५ बजे कोटेश्वरमा सडकको रातो बत्तीमा रोकिरहेको बा प्र ०१-०२६ च २९२७ नम्बरको भ्यान र बा.प्र. ०२-०५३ प ३८२७ नम्बरको मोटरसाइकललाई पछाडिबाट बा३ख ७०६२ नम्बरको बसले ठक्कर दिएको थियो।
प्रहरीले बसका चालक इलामको सूर्योदय नगरपालिका-५ का ५९ वर्षीय रामकुमार खड्कालाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको छ।