काठमाडौं। जम्मु कश्मीरस्थित हवाई अड्डामा पाकिस्तानले प्रहार गरेको मिसाइललाई भारतीय डिफेन्स युनिटले बिहीबार विफल बनाइदिएको छ। भारतीय सेनाका अनुसार पाकिस्तानको एफ-१६ जेटले प्रहार गरेको ८ वटा मिसाइललाई भारतको एस-४०० डिफेन्स सिस्टमले सफलतापूर्वक निष्क्रिय पारेको हो।
यसैबीच, भारतले पाकिस्तानमाथि कडा जवाफी कारबाही गरेको छ। हालै भारतको पहलगाममा भएको आतंकवादी आक्रमणमा एक नेपाली सहित २६ जना पर्यटकको ज्यान गएको थियो। उक्त घटनापछि आक्रोशित भारतले पाकिस्तानका विभिन्न ९ क्षेत्रमा हवाई आक्रमण गरी आतंकवादको संरचनालाई ध्वस्त पारेको दाबी गरेको छ।
भारतीय कारबाहीमा २६ जनाको मृत्यु भएको र ४६ जना घाइते भएको बताइएको छ। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै धर्मशालामा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को खेल पनि रद्द गरिएको छ। पञ्जाब र दिल्लीबीचको खेल १०.१ ओभरपछि बीसीसीआईले सुरक्षाको कारण देखाउँदै स्थगित गरेको हो।
पहलगाम आक्रमण र त्यसपछिको विकसित घटनाक्रमले भारत र पाकिस्तानबीचको तनाव थप बढाएको छ। भारतीय सेनाले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ।