काठमाडौं। काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित मखन टोलमा आज भीषण आगलागी भएको थियो। जुन आगलागि अहिले दमकल, नेपाली सेना, सुरक्षाकर्मी र स्थानीय बासिन्दाको सक्रियतामा नियन्त्रणमा लिइएको छ।
काठमाडौं प्रहरी प्रवक्ता अपिल राज बोहराका अनुसार आगलागीमा परी एक महिलाको मृत्यु भएको छ, तर उनको पहिचान खुल्न बाँकी छ।
प्रहरीले दिएको जानकारी अनुसार, सुरज आर्केडको पछाडि रहेको मखन गल्लीमा दयाराम श्रेष्ठको चार तले कच्ची घरको तेस्रो तल्लाबाट ग्यास चुहिएर आगलागी सुरु भएको थियो।
आगोले दयाराम श्रेष्ठको घरसँगै जोडिएको रुकेश श्रेष्ठको पाँच तले पक्की घरमा समेत क्षति पुर्याएको छ। आगो निभाउन काठमाडौं र ललितपुरका ६ वटा दमकल प्रयोग गरिएको थियो। स्थानीय बासिन्दा र सुरक्षाकर्मीको अथक प्रयासपछि आगो नियन्त्रणमा आएको हो।
आगलागीको थप विवरण आउन बाँकी छ।