पोखरा,वैशाख ३१ गते। धादिङबाट पोखरातर्फ आउँदै गरेको ग १ ज ८६३० नम्बरको विद्युतीय माइक्रोबस आज (बुधबार) पोखरा महानगरपालिका–३२ लामेआहालमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा परी आठ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार मृत्यु हुनेमा दुई महिला र एक पुरुष रहेका छन्। मृतकमध्ये पोखरा महानगरपालिका–२५ हेम्जाकी झाङमाया गुरुङको सनाखत भएको छ भने अन्य दुई पुरुषको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
यसैगरी, दुर्घटनामा घाइते भएका आठ जनाको गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। प्रहरी नायब उपरीक्षक बस्नेतले हावाहुरीसहित पानी परिरहेको अवस्थामा दुर्घटना भएको बताए। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन्।