काठमाडौँ। अपाङ्गताहरूको क्षेत्रमा क्रियाशील संस्था ब्राइट स्टार सोसाइटीले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (SEE) दिएर बसेका दृष्टिविहीन विद्यार्थीहरूका लागि तीन महिने निःशुल्क कम्प्युटर तालिम सञ्चालन गरिरहेको छ। काठमाडौँको बागबजारमा सञ्चालन भइरहेको तालिममा आठ जना दृष्टिविहीन विद्यार्थीको सहभागिता रहेको छ।
कम्प्युटर प्रशिक्षक तृसा लामाका अनुसार आधुनिक प्रविधिको प्रयोग गरी विद्यार्थीहरूलाई पढ्न, लेख्न र क्षमता विकास गर्न सहज होस् भन्ने उद्देश्यले यो तालिम सञ्चालन गरिएको हो। तालिममा सहभागी आठ जना विद्यार्थीलाई दुईवटा सिफ्टमा प्रशिक्षण दिइँदै आएको छ।
तालिम सुरु भएको एक हप्ता पुगिसकेको जानकारी दिँदै प्रशिक्षक लामाले यो तालिम दृष्टिविहीन विद्यार्थीहरूका लागि अत्यन्तै उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो। ब्राइट स्टार सोसाइटीको यो पहलले दृष्टिविहीन विद्यार्थीहरूको प्राविधिक क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।