मकवानपुर । प्रगतिशिल लेखक संघ मकवानपुरद्वारा आयोजित मार्क्सवादी सौन्दर्य चेतना विषयक विमर्श कार्यक्रममा आफ्नो विचार राख्दै केदार न्यौपानेले खिन्नता, उदासिनता र नैराश्यता मार्क्सवादमा नपर्ने बताएका छन् । गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रम हेटौंडा-४ स्थित साहित्य संगम तथा सिस्नुपानी नेपाल मकवानपुरको सभाहलमा भएको हो ।
प्रमुख अतिथि तथा वक्ता केदार न्यौपानेको उपस्थितिमा भएको कार्यक्रममा मार्क्सवादी सौन्दर्य चेतनाको विषयमा गहन छलफल भएको छ । कार्यक्रममा भोगेन्द्र लुइटेलले कार्यपत्र प्रस्तुत गरेका छन् । विमर्श कार्यक्रममा प्रस्तुत कार्यपत्रको टिप्पणी प्रह्लाद लामिछनेले गरेका हुन् ।
कार्यक्रममा प्रस्तुत कार्यपत्रमाथी प्रकाश पार्दै कार्यक्रमका प्रमुख अतिथी केदार न्यौपानेले खिन्नता, उदासिनता र नैराश्यता मार्क्सवादी सौन्दर्यमा नपर्ने बताएका छन् । साथै यथार्थमा आधारित विचारलाई व्यवहारमा उतार्दै कलात्मक बनाउने मार्क्सवादी संस्कार नै मार्क्सवादी सौन्दर्य भएको बताए ।
प्रगतिशील लेखक संघ मकवानपुरको अध्यक्ष विशाल अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रमको सन्चालन संघका सचिव गायत्री रुपाखेतीले गरेका हुन् ।