काठमाडौँ। अपाङ्गता भएका व्यक्तिहरूको क्षेत्रमा क्रियाशील संस्था ब्लाइन्ड युथ एसोसिएसन नेपाल (बायन) ले युनेस्कोको सहयोगमा काठमाडौँमा तीन दिने जलवायु परिवर्तन र विपद् व्यवस्थापन सम्बन्धी तालिम आजदेखि सुरु गरेको छ। यस तालिममा बहिरा, दृष्टिविहीन र शारीरिक अपाङ्गता भएका गरी कुल १५ जना सहभागीहरुको सहभागिता रहेकोछ।
बायनका निर्देशक निर श्रेष्ठले अन्तर्वार्तामार्फत छनोट गरिएका १५ जना सहभागीहरूलाई तीन दिनको तालिमपछि समुदायमा जलवायु परिवर्तन र विपद् व्यवस्थापनबारे चेतना फैलाउने र पैरवी गर्ने कार्यमा अग्रसर गराइने बताउनुभयो।
तालिमको सहजीकरण जलवायु परिवर्तन र विपद् व्यवस्थापनका क्षेत्रमा लामो समय काम गरेर अनुभव सँगाल्नु भएका अभियान्ता नवीन दाहालले गरिरहनु भएको छ। यो कार्यक्रम ठमेलस्थित मनाङ होटलमा आइतबारसम्म सञ्चालन हुनेछ।