भरतपुर। भरतपुर महानगरपालिकाले जातीय विभेद अन्त्यका लागि प्रोत्साहन गर्ने उद्देश्यले अन्तर्जातीय विवाह गरेका १५ दम्पतीलाई नगदसहित सम्मान गरेको छ। महानगरले दलित र गैर-दलितबीच विवाह गर्ने प्रत्येक जोडीलाई एक-एक लाख रुपैयाँ नगदसहित सम्मान गरेको हो।
महानगरपालिका कार्यालयमा आयोजित एक कार्यक्रममा मेयर रेनु दाहालले जातीय विभेद न्यूनीकरणमा यस्ता सम्मानले महत्वपूर्ण भूमिका खेल्ने बताइन्। उनले सामूहिक प्रयासबाट मात्रै जातीय विभेदलाई हटाउन सकिनेमा जोड दिइन्।
उपमेयर चित्रसेन अधिकारीले सामाजिक रूपान्तरणका लागि अन्तरजातीय विवाहको भूमिका महत्वपूर्ण रहेको बताए। महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जातीय विभेद दण्डनीय भए पनि पूर्ण रूपमा हटाउन अझै चुनौती रहेको बताए।
महानगरले आर्थिक वर्ष २०७७/०७८ देखि अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गर्दै आएको छ।