दोलखा। कार्तिक महिनाको आधा महिना हुन लाग्दा अहिले दोलखाका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई छ ।जिल्लाको ९ पालिकाका किसान धान काट्न, बिटा लगाउन लागि परेका छन । समयमै धानमा मल हाल्न नसकेकाले वर्षेनी धान उत्पादनमा कमी आउने गरेको छ । तर पनि दशैँकैबीचमा दोलखाका किसानहरु भने धान भित्र्याउने चटारोमा लागेका हुन।
धानमा मल चाहिएका बेलामा बजारमा मलको अभावको हुन्छ । जसले गर्दा मलको समस्या किसानले वर्षेनी झेल्दै आएका छन । तामाकोशी गाउँपालिका-४, मालुकी किसान गोमा खड्का अहिले धान काटन व्यस्त हुनुहुन्छ । दशैँको बेलामा पनि धान काट्न व्यस्त रहेको उहाँ बताउनुहुन्छ । मालुका केही किसानहरु धान काटि सकेर बिटा लगाउन लागिपरेको छ । किसानहरुले धेरैजसो हाइब्रिड धान उत्पादन गर्ने गरेका छन भने पोखरेल मसिनो, मकवानपुरे र मरसि धान कम मात्रामा उत्पादन गर्ने गरेका छन । तल्लो भू-भागमा धान उत्पादन हुने गरेको छ ।
यसैगरी भिमेश्वर नगरपालिका-७, का किसान रमेश भुजेलले यो वर्ष गत वर्षको तुलनामा केही मात्रामा धान बाली फस्टाएको बताउनुभयो। उहाँकाअनुसार उखुबारीको चालिसे बेसी, खोले बेसी, काल्ने बेसीका किसानहरु पनि धान भित्राउने चटारोमा छ । यो बर्ष बडादसैं र धान काट्ने समय एकै समयमा परेको छ । जसले गर्दा किसानलाई धान काटेर भित्राउन चटारो परेको छ ।
गाउँघरका सबैजना खेतीमा ब्यस्त भएका छन् । धान भित्र्याउने समयमा बेलाबेलामा फाट्टफुट्ट पानी पर्ने गरिरहेको छ । यसले किसानलाई निरास बनाउने काम गरेको छ । खेतबाट नजिक घर हुनेले धानको बिटा बोकेर घरमै लगेर झार्ने गरेका छन् । टाढा खेत भएका किसानले खेतमै झारेर यातायातका माध्यमबाट घरमा ल्याउने गरेका छन्।