वैशाख १० मा हुने उपनिर्वाचनमा बारा २ मा कांग्रेसले जसपा अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने भएको छ । तनहुँ १ मा गोविन्द भट्टराई र चितवन २ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार उठाउने निर्णय गरेको कांग्रेसले बारा २ मा भने सत्ता गठबन्धन दल जसपाका उम्मेदवारलाई समर्थन गर्ने भएको हो ।
बारा २ बाट उम्मेदवार बन्ने तयारी गरेका यादवलाई समर्थन गर्ने गरी कांग्रेसले निर्णय गर्न लागेको हो । यसका लागि आइतबार बिहान १० बजे बस्ने गरी कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बारा २ मा आफू निर्वाचन लड्नकै लाागि उपेन्द्रले जितेका रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएका हुन् । यादव ४ मंसिरको निर्वाचनमा सप्तरी २ मा जनमतका सिके राउतसँग पराजित भएका थिए ।
यो क्षेत्रमा यादव, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल र लोसपाबाट राजेन्द्र महतो निर्वाचन लड्ने तयारीमा छन् । एमालेले अझै उम्मेदवार घोषणा गरिसकेको छैन । २० चैतमा उम्मेदवारी मनोनयन गर्ने कार्यक्रम रहेको छ ।