हेटौंडा। हेटौडा १३ पदमपोखरी स्थित लोकतान्त्रिक चोकमा प्रथम पदमपोखरी सांस्कृतिक महोत्सव हुन थालिएको छ। आज पत्रकार समारोह भेटघाट कार्यक्रम राखेर समितिले आयोजना गरेको कार्यक्रमको बारेमा जानकारी गराएको हो।
पत्रकार सम्मेलनबाट आगामी फागुन ४,५ र ६ गते हुने महोत्सवको बारेमा विस्तृत जानकारी समितिले गराएको छ। ‘संस्कार संस्कृति एवंम् कला र साहित्यको जगेर्ना गरौँ, स्थानीय व्यापार कृषि उपज उत्पादनलाई प्रवर्धन गरौँ” भन्ने मूल नाराका साथ यस महोत्सवको आयोजना गर्न लागिएको समितिका संयोजक रहेका रन्जु गोम्जाले पत्रकार सम्मेलनमा सहभागी सञ्चारकर्मीहरुलाई जानकारी गराएका थिए।
महोत्सवबारे थप प्रष्ट पार्दै गोम्जा भन्छिन् ; खासमा हाम्रो यस क्षेत्र पदमपोखरीको आफ्नो पहिचानलाई एउटा उचाइमा उठाउन आन्तरिक पर्यटनलाई थप टेवा पुर्याउने उद्देश्य अनुरूप यस महोत्सव आयोजना गर्न लागेको हो।
हेटौडा उपमहानगरपालिका १३ का वडा अध्यक्ष समेत रहेका पेम्बा लामाले यस महोत्सवले यस क्षेत्रको उत्पादन र बजारीकरणको अवधारणा एउटा लिएको छ। यस वडा भित्र रहेका स्थानीय व्यापार कृषि उपज अन्तर्गत देखिएका उत्पादनलाई प्रवर्धन गर्ने र वडावासीको आर्थिक स्थितिलाई माथि उठाउने एउटा स्तम्भ बनाउने प्रयास यस महोत्सवले गर्ने अध्यक्ष लामाले बताए।
सिङ्गो महोत्सव भित्र स्थानीय परम्परागत रहेका उपयोगी उपभोक्ता कृषि उपज सामग्रीहरू, आधुनिक सीपमा विभिन्न सामान उत्पादन, बाँसजन्य सामग्री बनेका विविध सामानहरू, र महोत्सवलाई अवलोकन गर्न आएका व्यक्तिहरूको लागि पूर्णलक्षित विभिन्न खानाका परिकारहरू हुनेछ। महोत्सवभरि लगभग ८० वटा स्टलहरू रहने र उक्त राखिएका स्टलहरूमा पूर्णरूपमा मदिरा जन्य पदार्थ रोक रहने पनि जानकारी अध्यक्ष लामाले गराए।
महोत्सवलाई थप आकर्षण गराउनका निम्ति नेपाली राष्ट्रिय पहिचान झल्किने खालका मौलिक पोशाकहरू प्रदर्शन गरिने साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको विभिन्न मनोरञ्जनात्मक सांस्कृतिक प्रस्तुतिहरु पनि रहने महोत्सव समारोहका समितिका कलाकार संयोजक धिरेन लोप्चनले जानकारी दिए।
महोत्सवलाई साङ्गीतिक बेजोड प्रस्तुति दिन आउने राष्ट्रिय स्तरका कलाकारहरूमा रोज मोक्तान,पृति आले टिका बाेम्जन,प्रकाश तितुङ,साम्तेन मोक्तान र विकास लुङ्वा लगायत कलाकारहरूको विशेष प्रस्तुति रहने पनि जानकारी गराइएको छ।
यस महोत्सवलाई लगभग खर्च अनुमान भने १० लाखसम्म रहने आयोजक समितिले जानकारी दिएको छ। यस महोत्सवलाई लगभग हेटौडा उपमहानगरपालिका १८ वटै वडाबासीहरूले अवलोकन गर्न आउन सक्ने अनुमान समेत आयोजकले गरिएको छ।