मकवानपुरगढी। मिडिया कप फुटसल प्रतियोगिताको उपाधि नेपाल पत्रकार महासंघ मकवानपुरले जितेको छ । ५ औं संस्करणको रेडियो मकवानपुर कप मिडिया स्तरीय ‘मिडिया कप’ फुटसल प्रतियोगिताको उपाधि पत्रकार महासंघ मकवानपुरको टिमले जितेको हो ।
रेडियो मकवानपुरको १५ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सोमबार मकवानपुरगढी गाउँपालिका वडा नम्बर–३, स्थित मक्राञ्चुलीको फुटसल मैदानमा भएको फाइनल खेलमा पत्रकार महासंघ मकवानपुरले थाहा–नवयुग मिडियालाई १२–० गोल अन्तरले पराजित गरेको छ । खेलको पहिलो हाफमा महासंघको टिमले थाहा–नवयुग विरुद्ध ५ गोल गरेको थियो भने दोस्रो हाफमा थप ७ गोल गरेको थियो । पत्रकार महासंघ मकवानपुरका कार्य समिति सदस्य गणेश दुलालको नेतृत्वमा रहेको महासंघको टिमलाई सचिव केशव समर्पणले व्यवस्थापन गर्नुभएको थियो ।
त्यसअघि महासंघको टिमले आयोजक रेडियो मकवानपुरलाई ३–२ ले हराएको थियो भने उपविजेतामा सिमित भएको थाहा÷ नवयुग मिडियाले बागमती एक्सप्रेसलाई २÷१ गोल अन्त्रले पराजित गरेको थियो ।
प्रतियोगितामा ४ वटा टिमहरुको सहभागिता रहेको थियो । प्रतियोगिताको लागि नाम दर्ता भएका थप ४ टिम सहभागि भएका थिएनन् । प्रतियोगिता आयोजनाका लागि बागमती प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेश र हेटौंडा उपमहानगरपालिकाको पनि सहयोग रहेको छ ।
गत वर्ष भएको चौंथो संस्करणको फुटसल प्रतियोगिताको उपाधि टिम एन्ट्रान्सले जितेको थियो । प्रतियोगिताको उपाधि विजेता पत्रकार महासंघ र उपविजेता नवयुगको टिमलाई मंगलबार रेडियो मकवानपुरको वार्षिकोत्सवको समापन कार्यक्रम नगद सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।