विराटनगर। सामाजिक सञ्जालमा राखिएको वैदेशिक रोजगारीको विज्ञापनलाई भरपर्दा विराटनगरमा बाबुछोरा नै ठगिमा परेका छन्। रोजगारीको सिलसिलामा क्यानडा पठाइदिन्छु भनेर सामाजिक सञ्जालमा जोडिएका गिरोहले दुवै बाबु छोराको साथबाट नै रु ६६ लाख ५७ हजार रुपैयाँ रकम लिएको खुल्न आएको छ।
सामाजिक सञ्जालबाट ठगीमा परेका विराटनगर नगरपालिका ११ का महेश कुमार चौधरी र उनका छोरा युकेश कुमार चौधरी रहेका छन्। जब दुवै बाबु छोराले आफू सामाजिक सञ्जालबाट ठगिएको महसुस गरेपछि उनीहरुले प्रहरीमा उजुरी दिएका थिए। प्रहरीमा उजुरी परेपछि मोरङ प्रहरीले एक भारतीय नागरिक सहित पाँच जनालाई पक्राउ गर्न सफल भएको छ।
प्रहरीले पक्राउ गरेका समूहबाट उनीहरूले विभिन्न सामाजिक सञ्जालबाट वैदेशिक रोजगार अवसरको प्लेटफर्म देखाएर विभिन्न व्यक्तिहरूबाट आर्थिक रकम उठाउने र ती व्यक्तिहरूले विभिन्न बैंक खाता पठाएर रकम त्यस्ता व्यक्तिहरूबाट उठाइरहेको खुल्न आएको छ।
पक्राउ परेका व्यक्तिहरूमा भारत जोगबनीका वर्ष २३ को केशव यादव, मोरङको कटरिया गाउँपालिका ३ का वर्ष २२ को रोहितकुमार पासवान, वर्ष ३० को बुद्धनारायण मलाह, पथरीशनिश्वरे नगरपालिका ५ का वर्ष २५ को बोधराज राजवंशी र विराटनगर महानगरपालिका ८ का वर्ष २३ को अमित राय पक्राउ परेका छन्।
प्रहरीको विशेष अनुसन्धानबाट भारतीय नागरिक यादव भने उक्त ग्रुपका मुख्य योजनाकार भएको खुल्न आएको छ। भने उक्त ग्रुपमा रहने व्यक्तिहरूले सामाजिक सञ्जालहरूमा वाटसएप,टेलिग्राम भाइबर समेतका सामाजिक सञ्जालहरूबाट विभिन्न मानिसहरूलाई लोभ्याउने खालका विज्ञापन प्रोभाइड गरेर वैदेशिक रोजगारका विभिन्न ठाउँहरु क्यानडा,युरोप,अमेरिका,कुवेत र दुबई लगायतका देशहरूमा आकर्षक अवसर देखाएर विभिन्न मानिसहरूलाई फसाउने हेतुले अराजक गतिविधि गरेको खुल्न आएको मोरङ प्रहरीले जानकारी दिएका छन्।
नेपालमा रहेका नेपालीहरूलाई विदेशको नम्बरबाट कल गरेर उनीहरुलाई यस विषयमा आर्थिक लाभ लिन सकिने वैदेशिक रोजगारको अवसर देखाएर फसाउने गरेको पनि प्रहरीले जानकारी दिए।
पक्राउ परेका गिरोह विरुद्ध ठगी मुद्दा चलाउन मोरङ प्रहरीले अदालतबाट थप अनुसन्धानको म्याद मागी कारबाही अगाडि बढाएको जनाएको छ।