हेटौँडा। हेटौँडा उपमहानगरपालिका वडा नम्बर १७ मा रहेको धार्मिक तथा पर्यटकीय स्थल अङ्गारेश्वरमा माघ ३० गतेदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थलको विशेष साधारणसभाले सो क्षेत्रको स्तरोन्नतिका लागि महायज्ञ आयोजना गर्ने निर्णय गरेको हो ।
फागुन ७ गतेसम्म चल्ने महायज्ञ अङ्गारेश्वर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, अङ्गारेश्वर टोल विकास समिति र अङ्गारेश्वर दुग्ध उत्पादक सहकारी संस्थासँगको संयुक्त आयोजनामा गर्न लागिएको हो । महायज्ञ सन्चालनका लागि बुधबार अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थलका अध्यक्ष कृष्णदेव भन्डारीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।
समितिको सहसंयोजक तथा प्रसाद व्यवस्थापन संयोजकमा मिनप्रसाद दाहाल चयन भएका छन् । यस्तै अर्थ समिति संयोजक धर्मराज अर्याल, प्रचारप्रसार समिति संयोजकमा चुडामणि रुपाखेती, पूजा समितिमा केशव भूजेल, अतिथि सत्कार तथा सम्मान समितिमा माया राना, सरसफाइ समितिमा ओमप्रसाद अधिकारी र सामान खरिद समिति संयोजकमा शमशेर पुडासैनीलाई जिम्मेवारी तोकिएको प्रचारप्रसार समिति संयोजक रुपाखेतीले जानकारी दिए ।
महायज्ञबाट संकलित रकमबाट मन्दिर परिसरभित्र १० फिटको आधारस्तम्भमा १० फिट अग्लो महादेवको ध्यानावस्थाको मूर्ति स्थापना गर्नुका साथै मन्दिर परिसरमा रहेको सभाहलमा स्तरोन्नति गर्ने उद्देश्य राखिएको रुपाखेतीले बताए ।