पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई अदालतले थप पाँच दिन म्याद थप गरेको छ। जिल्ला अदालत कास्कीमा आज न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप पाँच दिनको म्याद थपेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते काठमाडौँबाट पक्राउ गरी सभापति लामिछानेलाई पछिल्लो पटक थपिएको चार दिनको म्याद आज सकिने भएकाले फेरि पनि म्याद थप गरी अदालत उपस्थित गराएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछानेलाई आज अन्तिम पटक म्याद थप गरेर अर्कोपटक अदालतमा उपस्थित गराउँदा अभियोजनपत्र पनि तयार गर्ने उद्देश्यका साथ कार्य भइरहेको प्रहरी स्रोतले जनाएको छ।
रास्वपाका सभापति समेत रहेका गोर्खा मिडियाका प्रबन्ध निर्देशक लामिछानेसहित पूर्व डिआइजी तथा गोर्खा मिडियाका पूर्व उपाध्यक्षसमेत भइसकेका छविलाल जोशीका साथै जीवीका साझेदार समेत रहेका हब्रसका रामबहादुर खनाल र जीविसँग जोडिएकी लीला पछाइलाई आज अदालतमा उपस्थित गराएको छ।
सहकारी सम्बन्धित छानबिन गर्न गठित विशेष संसदीय समितिको सिफारिसमा सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका सभापति लामिछाने सहितलाई सहकारी ठगीसँगै संगठित अपराध सम्पत्ति शुद्धिकरणको कसुरमा अनुसन्धान कार्य भइरहेको छ । अहिलेसम्म रवि लामिछाने संलग्न ठहर गराएका जति पनि सहकार्य संस्था रहेका छन् त्यो सबैमा बयान कार्य गराइसकेका छन्।
जीव राईका नेतृत्वको देशभरका सहकारीबाट लगभग ६५ करोड रकम गोर्खा मिडियामा प्रत्यक्ष रुपमा गएको समितिको प्रतिवेदनमा देखाएको छ। जस्मा सुर्यदर्शन सहकारीबाट लगभग ५ करोड ५८ लाख ९ हजार रुपैयाँ सो मिडिया ग्रुपमा गएको प्रतिवेदनमा देखाएको छ ।
अहिले सूर्यदर्शन सहकारीका कोष अध्यक्ष समेत रहेका कुमार रम्तेल भने पूर्वपक्षका लागि कास्की जिल्ला कारागारमै थुनामा रहेका छन्।