नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले पार्टीको कारबाही फुकुवा अस्वीकार गरेका छन् । कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले जोशी लगायतको कारबाही फुकुवाको निर्णयपछि एक विज्ञप्ति जारी गर्दै उनले त्यसको खण्डन गरेका हुन् ।
‘१० औँ हजार कार्यकर्ताको मतलाई बेवास्ता गर्दै चुनावको मुखमा मलाई नेपाली कांग्रेसबाट कारवाही फुकुवा गरिएको भन्ने जुन भ्रम छर्ने काम गरियो, यो सरासर गलत हो । यसप्रति मेरो घोर आपत्ति छ,’ उनले भने । यसअघि समस्या समाधानका लागि पटक पटक वार्ता टोली गठन गरी वार्ताको प्रयास गर्दा पनि पार्टीले बेवास्ता गरेको उनको गुनासो छ ।
‘सम्पूर्ण प्रयासका बाबजुद पनि वार्ताको वातावरण समेत नबनाउने, पार्टीमा सैद्धान्तिक विचलन ल्याउनेहरूबाट यसरी जनतालाई दिग्भ्रमित गर्ने गरिएको निर्णयको जति आलोचना गर्दा पनि कम हुन्छ,’ जोशीको पत्रमा उल्लेख छ ।