सुर्खेत । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले माओवादीको व्यवहारले मर्माहित भएको बताएका छन् ।
सुर्खेतमा बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले माओवादीले पीडा दिएको बताउँदै मर्माहित भएको बताएका हुन् ।
‘हामी गठबन्धन टिक्छ र टिकाउँछौं भनिरहेका छौं । टिकाउने क्षमता, खुबी र हिस्सेदारी हामीसँग छ भनिरहेका छौं,’ ‘तर हामीलाई पीडा दिने खालको व्यवहार देखिसकेपछि हामी मर्माहत भएका छौं ।’
अध्यक्ष नेपालले कर्णालीमा आफ्नो पार्टीलाई पूरै बेवास्ता गरिएको भन्दै माओवादीको व्यवहारप्रति आपत्ति जनाए हुन् । माओवादीले गरेको व्यवहार आफूहरुलाई स्वीकार्य नहुने अध्यक्ष नेपालले चेतावनी समेत दिए ।
माओवादी अध्यक्ष प्रचण्ड, प्रदेशका नेताहरुलाई सम्बोधन गर्दै उनले भने, ‘ प्रचण्ड जीलाई भन्न चाहान्छु, तपाईंहरुले जसरी हामीलाई बेवास्ता गरेर सरकारमा एकलौटी गर्नुभएको छ, यो हामीलाई स्वीकार्य छैन ।’
उनले माओवादीको व्यवहारको आलोचना मात्र नभई निन्दा गर्न मन लाग्ने बताए । यस्तैयस्तै खालका प्रवृत्तिहरु हुर्किंदै जाँदा गठबन्धन टिक्छ कि टिक्दैन भन्ने प्रश्न उठेको उनको भनाइ छ ।