ताप्लेजुङ । ताप्लेजुङमा दुई दिनको वर्षाले जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङबाट हिमाल सहजरूपमा देख्न सकिन्छ । हिमाल चाँदीजस्तै सेताम्य भएर टल्केका छन् । फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा, फले, वडा नं ७ ओलाङ्चुङगोला, याङ्मालगायत जिल्लाको हिमाली बस्तीमा हिउँ परेको स्थानीयले बताएका छन् ।
ओलाङ्चुङगोलाकै याङ्मामा क्षेत्रमा दुई फिटसम्म हिउँ परेको छ । चार हजार दुई सय मिटर उचाइमा रहेको याङ्मा जिल्लाकै उच्च भेगको बस्ती हो ।
यसैगरी तेह्रथुम, सङ्खुवासभासँगको सीमावर्ती क्षेत्र तथा मैवाखोला गाउँपालिकाको शिर तीनजुरे–मिल्के–जलजले (टीएमजे) क्षेत्रमा पनि हिमपात भएको छ । जिल्लाको मिक्वाखोला गाउँपालिका–५ पापुङ, सिदिङ्वा गाउँपालिकाको उच्च भागमा हिमपात भएको स्थानीयले बताएका छन् ।
ताप्लेजुङको हिमाली क्षेत्रमा यस वर्ष फागुन १५ गते पनि हिमपात भएको थियो । यस वर्ष विगतका तुलनामा भने कमै हिमपात भएको छ ।
हिमपात र वर्षा भएपछि किसान हर्षित भएका छन् । मकैलगायत खाद्यान्न बाली लगाउने समयमा हिमपात र वर्षा हुँदा किसानले राहत महसुस गरेका छन् । त्यस्तै नगदे बाली अलैँची, तरकार लगायत बालीका लागि पनि हिउँ र वर्षाले राहत मिलेको किसानको भनाइ छ ।