काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले प्रतिनिधि सभाको बैठक मजाक गर्ने थलोको रुपमा दुरुपयोग हुन थालेको भन्दै चिन्ता प्रकट गरेकी छन् ।
मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले सदनको गरिमालाई मर्यादत बनाउनु सबै सांसदहरुको कर्तव्य, दायित्व र जिम्मेवारीको विषय भएको बताइन् ।
‘तर हाम्रा प्रस्तुतीहरू गतिविधिहरु त्यति वान्छनीय देखिँदैनन् । सदन सिंगो मुलुकको भविष्य निर्माण गर्ने ठाउँ हो । तर, यसलाई केही माननीयहरुले मजाक गर्ने थलोको रुपमा दुरुपयोग गर्नुभएको छ,’ उनले भनेकी छन् ।
सांसद राईले संसदलाई मजाक गर्ने थलो बनाउने प्रयत्नका उदाहरणहरु पनि दिएकी छन् । ‘कोही माननीय मौन धारणा गर्ने, कोही माननीय सदनमा नांगिएर परेड खेल्ने यी गतिविधहरुप्रति खेद प्रकट गर्न चाहन्छु,’ सांसद राईले भनेकी छन् ।
सदनमा आफ्नो कुरा राख्ने र विरोध गर्ने तरिकालाई मर्यादित बनाउन आवश्यक रहेको उनको भनाइ छ । सदनलाई मर्यादित नबनाउँदा आम नागरिक, सरकार, सदन र मुख्य रुपमा स्वयम सांसद अमर्यादित हुने कुराको हेक्का राख्नुपर्ने उनको राय छ ।