उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालविरुद्ध मधेसमा मोर्चाबन्दी सुरु भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ चार दलको साथमा गएपछि महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, डा.सीके राउत नेतृत्वको जनमत पार्टी र रेशमलाल चौधरीले स्थापना गरेको नागरिक उन्मुक्ति पार्टीले अर्को गठबन्धन तयार गरेका छन् । उपराष्ट्रपति पदको निर्वाचनका लागि यी तीन दलको मोर्चा घोषणा भइसकेको छ ।जसपाका अध्यक्ष उपेन्द्र यादवले उपराष्ट्रपतिमा महिला र पुरुष गरी दुई जना उम्मेदवार उठाएपछि यी तीन दलले त्यसको विरुद्धमा जनमतबाट ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाएका छन् ।
राष्ट्रपति र उपराष्ट्रपतिको विषयमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले पहिला नै टुङ्गो लगाइसकेका थिए । सोमबार बसेको सत्ता पक्षीय १० दलको बैठकमा उपराष्ट्रपतिको विषयमा पहिला नै टुङ्गो लागिसकेको जानकारी गराइएको थियो ।त्यसपछि जनमत, लोसपा र नागरिक उन्मुक्ति पार्टीले आफ्नो छुट्टै उम्मेदवार बनाउने निर्णय गरेका हुन् । उपराष्ट्रपतिको विषयमा जसपाका अध्यक्ष उपेन्द्र यादवले मधेस केन्द्रित दल लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीमध्ये कसैसँग कुनै छलफल गरेनन् ।
जनमत पार्टीका उपाध्यक्ष दीपक साहका अनुसार भागबण्डामा जसपाका अध्यक्ष यादवले उपराष्ट्रपति पाइसकेपछि अन्य दलसँग छलफल तथा सल्लाह गरेनन् । जसपाका अध्यक्ष यादवले लोसपा, जनमत र उन्मुक्ति पार्टीलाई महत्त्व नै नदिएको गुनासो उपाध्यक्ष साहको छ । उनले भने, ‘हामीले हरेक विषयमा जसपासँग छलफल गरेका छौं, जानकारी गराएका छौं तर उसले हामीसँग कुनै समन्वय नै गर्न नचाहने हो भने त्यसको पर्खाइमा बस्न सकिँदैन । जोसँग मुद्दा र विचार मिल्छ ऊसँग मिलेर अगाडि बढ्नेछौं ।’मधेसको मुद्दा तथा देशकै हितका लागि यो गठबन्धन बनेको दाबी गर्दै उनले उपेन्द्र यादव विरुद्धको मोर्चाबन्दी भने नभएको दाबी गरे ।२०७९ को तीनै तहको चुनावमा गठबन्धन बनाउनका लागि जनमत र लोसपाले प्रयास गरेका थिए ।
जसपाले पनि चुनावी गठबन्धनका लागि कार्यदल बनाएको थियो । तर उसले मधेस केन्द्रित कुनै पनि दलसँग छलफल नै गरेन । बरु जनमत र लोसपाले जसपासँग छलफल पनि गरेका थिए । जनमत पार्टीका अध्यक्ष सीके राउत स्वयंले उपेन्द्र यादवलाई भेटेर चुनावी गठबन्धनका लागि प्रस्ताव गरेका थिए । लोसपाका नेताहरुले पनि जसपाका नेताहरुसँग चुनावी तालमेलका लागि छलफल गरेका थिए तर जसपा भने ठूला दलसँग चुनावी तालमेल गर्ने दौडधुपमा थियो । यो पछिल्लो गठबन्धन लोसपा र जनमतले जसपालाई सोधखोज नगरी बनाएका हुन् । यो गठबन्धनले जसपाका उपराष्ट्रपति पदका उम्मेदवारलाई मतदान गर्ने छैन । प्रतिनिधि सभाको चुनावमा जनमत पार्टीका अध्यक्ष सीके राउतले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेका थिए ।
लोसपाले पनि उपेन्द्र यादवको विरुद्धमा आफ्नो उम्मेदवार खडा गरेको थियो । उपराष्ट्रपतिको चुनावमा पनि जनमत र लोसपाले जसपाविरुद्ध मोर्चा बनाएर चुनौती दिएका हुन् ।जसपाका रामसहाय यादव उपराष्ट्रपति बनेको खण्डमा बारा–२ मा प्रतिनिधिसभा सदस्य पदका लागि उपनिर्वाचन गराउनुपर्ने हुन्छ । उक्त चुनावमा उपेन्द्र यादव उम्मेदवार बन्ने चर्चा छ । सो क्षेत्रमा पनि जनमत र लोसपाले जसपालाई साथ नदिने सम्भावना रहेको लोसपाका नेताहरु बताउँछन् । लोसपाका एक कार्यकारिणी सदस्यले भने, ‘उपेन्द्रजीले समन्वय गर्नुभएन भने यो गठबन्धन हरेक क्षेत्रमा आफ्नै तरिकाले अगाडि बढ्छ ।’