मधेश प्रदेशका शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्यमन्त्री महेश यादवले प्रदेशमा शिक्षा तथा वाणिज्य क्षेत्रको विकासका लागि सरकारले १६ बुँदे कार्ययोजना ल्याउन लागेको जानकारी दिएका छन् । जनकपुरधाममा बुधबार पत्रकार सम्मेलन आयोजना गरी मन्त्री यादवले शिक्षा तथा वाणिज्य क्षेत्रको विकासका लागि १६ बुँदे योजनाअन्तर्गत रहेर काम अघि बढाइने जानकारी गराए ।
मन्त्री यादवले लचक व्यवहार अवलम्बन, नतिजामुखी नीति निर्माणमा जोड, त्रिपक्षीय समन्वय, साक्षर प्रदेश घोषणा, सीमान्तकृत समुदायका लागि विशेष नीति, गुणस्तरीय शिक्षा मापन नीति ल्याउने, प्रादेशिक शिक्षा ऐन, दण्ड पुरस्कारको नीति, शिक्षा विज्ञहरूसँग त्रैमासिक स्कुलिङ, टेक्नोलोजी फर गार्जियन, मधेश कृषि विश्वविद्यालयमा नयाँ वर्षदेखि पठनपाठन, व्यावहारिक, संस्कारी र मातृभाषा शिक्षामा जोड, विज्ञान, प्रविधिसँग सम्बन्धित प्रदेशस्तरीय बिग प्लान्ट जडानमा जोड, व्यापार तथा वाणिज्य सम्बन्धी विशेष नीति, प्रदेशस्तरमा हानिकारक पदार्थको नियमन र व्यवस्थापन तथा आर्थिक मितव्ययिता लगायतका नीति अवलम्बन गरिने बताए ।
कुनै समय शैक्षिक हबको रूपमा रहेको मधेशको शिक्षास्तर अहिले खस्किरहेको दाबी गर्दै मन्त्री यादवले भने‚ ‘प्रदेशका शिक्षकहरू पहाडमा गएर पढाउने जिल्लाहरू साक्षर भइसके तर आफ्नो गृह जिल्ला र गृह प्रदेश अहिलेसम्म ५० प्रतिशत पनि साक्षर नहुनु ठूलो विडम्बना हो।’यसमा सुधार ल्याउन स्थानीय तहबाटै अभियानको शुरुवात गर्नुपर्नेमा मन्त्री यादवले जोड दिए। मन्त्री यादवले प्रदेशलाई साक्षर बनाउन स्थानीय तहका सरोकारवाला, प्रध्यानाध्यापक, प्रदेशका शिक्षाविद्हरूलाई एकै ठाउँमा राखेर छलफल गरी प्रदेश सरकारले यी योजनालाई ठोस रूपमा अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरे ।
प्रदेशको साक्षरता दर दिनप्रतिदिन खस्किरहेकोमा मन्त्री यादवले चिन्ता व्यक्त गरे। प्रदेशको साक्षरता दर ५० प्रतिशत पनि नरहेकोमा चिन्ता व्यक्त गर्दै उनले वाणिज्य क्षेत्रको विकासका लागि यस प्रदेशमा काम नभएको समेत बताए । प्रदेशभरिकै विभिन्न विद्यालय अनुगमन गर्दा उत्तरी भेगको विद्यालयभन्दा दक्षिण भेगका विद्यालयको शैक्षिक अवस्था झन् कमजोर भेटिएको मन्त्री यादवले बताए।
‘वाणिज्य आपूर्तिसम्बन्धी कामको अवस्था त्यस्तै छ। शिक्षासम्बन्धी सरकारको लगानी अर्बौँमा देखियो तर प्रतिफल शून्य देखिएको छ । मधेश प्रदेशको शिक्षा अवस्था कमजोर हुनुको मुख्य कारण सबै पक्ष आफ्नो दायित्वबाट पछि हट्नु हो’‚ उनले भने।