हेटौंडा । पहिरोको कारण कुलेखानी–सिस्नेरी सडकखण्डमा यातायात अवरुद्ध भएको छ । गएराति देखि परेको विरल बर्षासँगै आएको बर्षले गर्दा यातायात अवरुद्ध भएको हो ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ भालुडाँडास्थित पहिरो जाँदा यातायात अवरुद्ध बनेको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
लगातार वर्षाका कारण पहिरो हटाउन कठिनाइ भइरहेको भन्दै प्रहरी नायव उपरीक्षक कार्कीले उक्त सडकखण्ड हुँदै संचालन हुने सवारी साधनहरुलाई बैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेका छन् ।
वर्षाका कारण भैंसे–भीमफेदी सडकखण्ड पनि अवरुद्ध बनेको छ । भीमफेदी गाउँपालिका वडा नम्वर २ स्थित ज्यालटारमा माथिबाट लेदो माटोसहितको पहिरो जाँदा भैंसे–भीमफेदी सडकखण्डमा यातायात अवरुद्ध बनेको हो ।