काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको जनाएको छ । साथै नेपालमा हाल भारतको केन्द्रीय मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।
जसको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यस्तै, आज दिउँसो देशभर सामान्य बदली रही सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यसैगरी, आज राति भने देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।