नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा अझै प्रतिगमनको खतरा रहेकाले माओवादीसहितका दलसँग सहकार्य गरिरहेको बताउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत माग्दै राखेको प्रस्तावमाथिको छलफलमा बोल्दै देउवाले यसअघि पटक–पटक संसद् विघटन गर्दै देशलाई प्रतिगमनतर्फ लैजाने हर्कत भएको र फेरि त्यो दोहोरिन नदिन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीको रूपमा समर्थन गरेको बताउनुभयो ।
उहाँले लोकतान्त्रिक व्यवस्थालाई उल्टाउने षड्यन्त्रस्वरूप २१ महिनाअघि दुई पटक संसद् विघटन भएको स्मरण गर्दै त्यो बेला व्यवस्था जोगाउन विभिन्न दल मिलेको र अहिले पनि त्यसलाई नै निरन्तरता दिएको पनि बताउनुभयो । गठबन्धनकै कारण संसद् पूर्ण कार्यकाल चलेको र देशमा तीन वटै तहका चुनाव तोकिएको समयमै भएको देउवाले बताउनुभयो । गएको पुस २६ गते पनि देशमा राजनीतिक स्थिरताका लागि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको र अहिले पनि समर्थन गरेको देउवाको भनाइ छ ।
प्रधानमन्त्री देउवाले यो सरकार र संसदबाट नेपाली नागरिकले धेरै अपेक्षा राखेको बताउँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्त गर्नु हामी सबैको साझा लक्ष्य भएको बताउनुभयो । ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण र संविधानको रक्षा आजको आवश्यकता हो । संविधानको सार्थक कार्यान्वयनका लागि धेरै नीति र कानुन निर्माण गर्नुछ । देशको बिग्रदो आर्थिक अवस्थालाई सुधार गर्न आवश्यक छ । विश्वव्यापी कोभिडको महामारी लगायतका कारण देशको अर्थतन्त्रमा नकारात्मक असर परेको छ । यस क्षेत्रमा सरकारले विषेश ध्यान दिन जरुरी छ’, उहाँले भन्नुभयो ।