म्याग्दी । सोमबार साँझदेखि रातभर परेको भारी वर्षापछि बेनी–जोमसोम सडकअर्न्तगत रघुगंगा गाउँपालिका–२ बैसरी र कुनौटो त्यस्तै अन्नपूर्ण गाउँपालिका–२ नौनीबगर र ३ गुइँठेमा पहिरो खस्दा यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
यातायात अवरुद्ध हुँदा मुस्ताङ भ्रमणमा आएका पर्यटक, कागबेनी/मुक्तिनाथमा सोह्र श्राद्ध गर्न गएका तीर्थालुहरू बाटोमा अलपत्र परेका छन् । मुस्ताङबाट स्याउ बोकेर आएका ट्रकहरू पहिरोमा फसेको प्रहरीले जनाएको छ ।
त्यस्तै, सदरमुकाम बेनीबाट पश्चिमतर्फ बेनी–दरवाङ सडकको बेनी नगरपालिका–४ फापरखेत र मालिका गाउँपालिका–६ बाङ्गेपहिरोमा पनि पहिरोले यातायात अवरुद्ध भएको छ । पहिरोले जिल्लाको पश्चिम भेगका मंगला, मालिका र धवलागिरी गाउँपालिकाहरू सोझो याातायात विच्छेद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।