काठमाडौँ। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्न नचाहेको आफ्नो प्रतिक्रिया दिएका छन्। हिजो धरानबाट केन्द्रीय राजधानी काठमाडौँमा प्रवेश गरेका हर्क साम्पाङले सञ्चारकर्मीहरूसँग साक्षत्कार गर्दा आफूले प्रधानमन्त्रीसँग भेट्न चाहेको उल्लेख गरेका थिए।
तर आज उनले फेरि सञ्चारकर्मीहरू समक्ष कुराकानी गर्दा मेयर साम्पाङ्गले प्रधानमन्त्री ओलीले नै आफूसँग भेट्न नचाहेको प्रतिक्रिया दिएका छन्।
खानेपानीको समस्या लिएर सिंहदरबार प्रवेश गरेका मेयर साम्पाङले आज दिउँसो खानेपानी मन्त्री र अर्थमन्त्रीलाई भेटेर धरानको पानीको समस्या समाधान गर्नका निम्ति प्रस्तावसहित उचित बजेट व्यवस्थापन गर्न उनले आग्रह गरेका छन्।
प्रधानमन्त्री ओली सचिवालयका स्रोतका अनुसार धरानका मेयर साम्पाङसँग आज प्रधानमन्त्री ओली समक्ष भेटघाट कार्यक्रम तय नभएको कारण भेट हुन नसकेको उल्लेख गरेका छन्।
धरानका मेयर साम्पाङले धरानबासीको खानेपानीको समस्या लिएर रित्तो गाग्री बोकेर हिजो काठमाडौँ प्रवेश गरेका थिए। आज सिंहदरबारमा पनि उनी रित्तो गाग्री सहित पुगेका थिए तर त्यहाँ सुरक्षामा खटिएका प्रहरी प्रशासनले सो गाग्री भित्र लान नमिल्ने भनेर बाहिर खोसेका थिए।