मकवानपुर गढी। आगामी माघ १२ गते मकवानपुर गढी गाउँपालिका वडा नं २ कुर्ले दमार चौरमा तामाङहरूको महान पर्व ल्होछार साँस्कृतिक कार्यक्रम हुने भएको छ।
२८६१ डुल/सा पुख्री ल्हो सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम २०८१ कुर्ले दमार चौरमा हुन थालिएको हो।
आज एक पत्रकार सम्मेलन गर्दै गढी गाउँपालिकामा भएका तामाङ समुदायहरूको साँस्कृतिक भेषभुषा,कला संस्कृति र मौलिक संस्कार भाषा सम्बन्धीको संरक्षण र सम्बर्धनको उद्देश्यका साथ यस कार्यक्रमलाई आयोजना गरिएको आयोजक टिम नेपाल तामाङ घेदुङ मकवानपुर गढी गाउँपालिका कार्यसमितिले जानकारी दिएको छ।
आयोजक टिम घेदुङ मकवानपुर गढी गाउँपालिका कार्यसमिति भन्छन्; हाम्रो यस सोनम ल्होछार विशेष साँस्कृतिक कार्यक्रममा विशेष आकर्षणको रूपमा राष्ट्रिय कलाकार र स्थानीय कलाकारहरूको सेलो साङ्गतिक प्रस्तुति र नृत्य प्रस्तुति बेजोड रहनेछ। साथमा तामाङ समुदायको मौलिक सांस्कृतिक परम्परागत रूपमा रहेका ताम्बा,लामा तथा झाँक्री प्रदर्शन हुँदै तामाङ समुदायले खानपिन गरेका विभिन्न खानाका परिकारहरुको स्टलहरु समेत राखिने घेदुङ गढी गाउँपालिका अध्यक्ष सानो कान्छा थिङले जानकारी थिए।
आयोजक टिमले कार्यक्रमलाई सुसम्पन्न गर्नका निम्ति आर्थिक पाटोलाई स्थानीय सरकारको रूपमा रहेका मकवानपुर गढी गाउँपालिकासँग समन्वय गर्ने र अन्य विभिन्न व्यवसायीहरूसँग समन्वय गरेर करिब ६ लाख सम्म खर्च हुने साँस्कृतिक कार्यक्रमलाई व्यवस्थापन गर्ने कार्य समितिका सदस्य विक्रम लुङ्गवाले जानकारी दिए।
उक्त पत्रकार सम्मेलनमा सहभागी हुनेहरूमा गाउँ कार्यसमितिका सल्लाहकार राजकुमार गोले,जिल्ला कार्यसमितिका सदस्य आकाश गोले,गाउँ कार्यसमितिका उपाध्यक्ष विक्रम योन्जन,सहसचिव भुवन घलान,नेपाल पत्रकार महासङ्घका अध्यक्ष बालकृष्ण अधिकारी,गढी पत्रकार समाजका सचिव श्रीराम अर्जुन र तामाङ पत्रकार सङ्घ मकवानपुरका उपाध्यक्ष सन्देश थिङ लगायत अन्य पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो।