काठमाडौँ। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ रित्तो गाग्री बोकेर काठमाडौँ छिरेका छन्।
आफूले चलाएको स्थानीय सरकारलाई धरानको प्रमुख समस्याको रुपमा रहेको खानेपानी समस्यालाई संघीय सरकारले कुनै पनि सहयोग नगरेको भन्दै उनी दबाब स्वरूप रित्तो गाग्री बोकेर आज काठमाडौँ छिरेका हुन् ।
खानेपानीको समस्या लिएर उनले धरानमा पनि रितो गाग्री बोकेर धरानको भानुचोकमा पनि यस अघि केही प्रदर्शन गरेका थिए।
धरानका मेयर साम्पाङले भोलि रित्तो गाग्री बोकेर नै सिंहदरबारमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानी मन्त्री प्रदिप यादवलाई भेट्ने बताएका छन्।
धरानमा खानेपानीको विषयमा निकै नै ठूलो विवाद मच्चिने गरेको पाइन्छ । खानेपानीकै एजेन्डा लिएर धरानका नेताहरू उठेता पनि यो समस्या जस्ताको जस्तै अझै रहेको देखिन्छ।
धरानमा ४१ वर्षसम्म खानेपानीको वितरण गरिरहेको खानेपानी संस्था विघटन गरेर २०७७ साल फागुनमा खानेपानी व्यवस्थान बोर्ड गठन गरियो तर पानीको अवस्था भने जिउका त्यही उस्तै धरानीवासीहरुले भोगिरहेका छन्।
अहिले यही समस्यालाई लिएर मेयर साम्पाङ सिंहदरबार प्रवेश गरेका हुन्। अब केन्द्रीय राजधानी सम्हाली बसेका नेपालका प्रधानमन्त्रीदेखि लिएर खानेपानी मन्त्रीसम्म यो समस्याको समाधानको विकल्प लिएर जाने एउटा उद्देश्य बोकेर मेयर साम्पाङ केन्द्रीय राजधानीमा प्रवेश गरेका देखिन्छन् ।